भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउन प्रेस चाैतारीका महासचिव लामाकाे आग्रह
चितवन । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरुपण गर्न पत्रकारहरू सचेत र जागरूक हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको ब्यापार फस्टाइरहेकोले त्यस्ता भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन मिडियाकर्मीहरू दरिलो ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘सरकारका विरुद्ध अनावश्यक टीकाटिप्पणी गर्दै नेतृत्वको तेजोबोध गर्ने प्रवृत्ति बढेको छ’ उहाँले भन्नुभयो, ‘म पत्रकार साथीहरूलाई भन्न चाहन्छु तपाईँहरूका कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्दछ ।
सङ्गठन सुदृढीकरणका लागि गर्नुपर्ने काम र भूमिकाको विषयमा आफ्नो धारणा राख्दै महासचिव लामाले पत्रकारको क्षमता बिकास र सुरक्षाको सवालमा पनि संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल बाग्मती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बाग्मती प्रदेशका जिल्लाका अध्यक्षहरू, केन्द्रीय सदस्यहरु लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारहरूका समस्या र सरकारको भूमिकाका बारेमा धारणा राखेका थिए । नवलपुर जिल्लाको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्