नेपाल-भारत सीमा सुरक्षाका लागि छैठौं समन्वयात्मक बैठक सम्पन्न
बाँके । नेपाल र भारतका सशस्त्र सुरक्षा बलबीच छैठौं डिआइजी स्तरीय समन्वयात्मक बैठक बाँकेको बिन्ध्यावासिनी बाहिनी मुख्यालयमा सम्पन्न भएको छ। सीमा सुरक्षा बलहरूले संयुक्त रूपमा सीमा क्षेत्रका चुनौती र समाधानका उपायबारे सहमति गरेका छन्।
नेपालतर्फ सशस्त्र प्रहरी बल ५ नं. बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति डिआइजी प्रदीप कुमार पालको नेतृत्वमा बैठक सम्पन्न भयो। भारततर्फ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का लखीमपुर खिरी सेक्टर हेडक्वार्टरका डिआइजी बी. विक्रमन र गोरखपुर सेक्टर हेडक्वार्टरका डिआइजी मुन्ना सिंहको नेतृत्व रहेको थियो।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न विशेष प्राथमिकता दिइयो। मुख्य सहमति यी विषयमा केन्द्रित थियो:
- सीमा स्तम्भहरूको समयमै मर्मत र सम्भार।
- दशगजा क्षेत्रमा रहेका अवैध संरचनाहरू हटाउने।
- मानव तस्करी, लागूऔषध ओसारपसार, नक्कली मुद्रा, हतियार र वन्यजन्तु तस्करी नियन्त्रण।
- तेस्रो देशका नागरिकहरूको अवैध प्रवेश रोक्ने।
- दशगजा क्षेत्रको सफाइ र सौन्दर्यकरण।
दुवै पक्षले संयुक्त अभियानलाई निरन्तरता दिने सहमति जनाए। यसमा सीमा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद कार्यक्रम र संयुक्त अभ्यासलाई प्राथमिकता दिइनेछ।
यसअघि पाँचौँ समन्वयात्मक बैठक भारतको रुपैडिहामा सम्पन्न भएको थियो। सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण बागेश्वरीका प्रहरी उपरीक्षक बिमल डाँगीले यसबारे जानकारी दिएका हुन्।
बैठकले दुई देशबीचको सीमा सुरक्षा सुदृढ गर्न थप सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया राख्नुहोस्