चितवनबाट ११ हजार ३१३ विद्यार्थीले एसइई दिँदै
चितवन । एसइई को परीक्षा तालिका सार्वजनिक भएसँगै चितवनमा तयारी शुरु गरिएको छ । यस वर्षको एसइई परीक्षामा चितवन जिल्लाबाट यसवर्ष ११ हजार ३१३ विद्यार्थीले माध्यमिक शिक्षा (एसइई) को परीक्षामा दिने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका सूचना अधिकारी तथा शाखा अधिकृत रमेश अधिकारीले गत वर्षको तुलनामा यसवर्ष एसइई दिने विद्यार्थीको सङ्ख्या केही बढेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘चितवन जिल्लाबाट एसइई परीक्षाको लागि रजिस्ट्रेसन फर्म भर्ने विद्यार्थी यसवर्ष ११ हजार ३१३ रहेको छ ।’ गतबर्षको भन्दा केही बढेको छ । ’ उहाँका अनुसार गत वर्ष चितवनबाट १० हजार ६१५ विद्यार्थीले परीक्षा दिएका थिए ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेड वृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । चितवनमा हुने एसइई परीक्षाको तयारी सुरु गरिएको शाखा अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
गत वर्ष चैत १४ देखि २७ गतेसम्म नियमित एसइई परीक्षा भएको थियो । ‘यसवर्ष सात दिनअघि एसइई परीक्षा हुन लागेको छ, तयारी द्रुत गतिमा लैजानुपर्छ’ अधिकारीले भन्नुभयो ।
जसमा पाँच हजार ९७५ अर्थात् ५६.२४ प्रतिशत विद्यार्थी पास भएका थिए । गत वर्ष ४ हजार ७ सय ९१ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए । चितवनमा १७ जना विद्यार्थीको चार जिपिए आएको थियो । पुनः जाँचको क्रममा चितवनमा थप एक जना चार जिपिए ल्याउने विद्यार्थी बढेका थिए ।
यसपटक पनि गत वर्षजस्तै ४२ वटा केन्द्र रहन सक्ने समन्वय इकाइले जनाएको छ । रजिष्टेसन भरेका सबै विद्यार्थीले एसइई परीक्षा दिए भने गत वर्षको तुलनामा यसवर्ष एसइई परीक्षा दिने विद्यार्थी ६९८ बढी हुनेछन् ।
गत वर्ष चितवनमा नौवटा संस्थागत विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएका थिए भने सामुदायिक तर्फका दुईवटा विद्यालयका विद्यार्थीले चार जिपिए ल्याएका थिए । गतबर्ष जिल्लाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो ।
प्रतिक्रिया राख्नुहोस्