आपसी विवादमा इट्टा प्रहार गरी मजदुरको हत्या
रुपन्देही । रुपन्देहीमा इट्टाले हानी भारतीय मजदुरको हत्या गरेको छ । रातको समयमा एकआपसमा भएको विवादका क्रममा एक नेपाली मजदुरको इट्टा प्रहारबाट भारत, गोरखपुर घर भएका करिब ४०/४२ वर्षीय निस्ठुरी केवटको मृत्यु भएको हो ।
सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत केवटको हत्याको आरोपमा प्रहरीले सियारी गाउँपालिका –६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले ‘गएराति करिब नौ बजे सोही उद्योगको ट्याक्टर चलाउने केबटले मापसे गरि आएपछि आपसी झैझगडामा इँटा प्रहार गर्दा निस्ठुरी केवटको मृत्यु भएको बताउनुभयो ।
कुटपिटबाट गम्भीर घाइते भएका केवटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको थियो ।
मादक पदार्थ खाएपछि उनीहरूबिच झैझगडा भएको र त्यही क्रममा कृष्णले निस्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया राख्नुहोस्