तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको उदासीनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको कुरामा सरोकारवालाले भनाई 

वीरगंज । स्थानीय तहको उदासीनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको कुरामा सरोकारवालाले जोड दिएका छन् । 

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज वीरगन्जमा जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न अन्तरसंवाद कार्यक्रममा विपद जोखिम न्यूनीकरणमा स्थानीय तहको सरकारको भूमिका प्रभावकारी नदेखिएको सहभागी सरोकारवालाहरुले औँल्याएका हुन् ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले विपद जोखिम न्यूनीकरणका लागी स्थानीय तह मात्रै होइन सबै वर्ग समुदाय र सरोकारवाला निकाय एक आपसमा हातेमालो गर्दै एकबद्ध भएर हिँड्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गर्नुभन्दा पनि लागत खर्च सस्तो खोजेर भवन निर्माण गर्ने गर्दा पनि भूकम्पीय जोखिम हुने गरेको बताउनुभयो ।

सहभागीहरूले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सावधानी, राहत उद्धारमा स्थानीय तहको सरकारले देखाउनुपर्ने सक्रियता कम हुँदा जनधनको क्षति हुने गरेको कुरामा जोड दिएका थिए ।

विपद आउने समयमा पनि सावधानी नपाउने नेपाली समाजको प्रवृत्ति रहेको बताउँदै उहाँले राहत उद्धारका लागि पनि कानूनी झमेला बढी रहेको सहभागीहरूको भनाई थियो । भौगोलिक कठिनाई, नागरिकको चेतनामा कमी तथा अन्य विविध कारणले पनि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चुनौतीहरू हुने गरेको सरोकारवालाले बताएका थिए ।  

कार्यक्रममा पर्साका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरू, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button