तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेद्वारा मेची रंगशाला अवलोकन 

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन/निरीक्षण गर्नुभएको छ

विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपराह्न मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा जानकारी लिनुभएको हो । 

सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको सचिवालयमा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष पूर्व प्रदेशसभा सदस्य वसन्त बानियाँ, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिका वडा न-५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले स्वागत गर्नुभएको थियो ।

सो क्रममा गोल्ड कपका अध्यक्ष ढकालले सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको आसन्न दोस्रो संस्करणको तयारी र मेची रङ्गशालामा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुभयो । हाललाई रङ्गशालामा थप प्याराफिट र रात्रिकालीन प्रतियोगितासमेत गराउन सक्ने   फ्लड लाइटको व्यवस्थाका लागि सभामुख घिमिरेलाई आग्रह गरिएको अध्यक्ष ढकालले बताउनु भयो । सोक्रममा सभामुख घिमिरेले मेची रंगशाला भद्रपुरको मात्र नभई झापाकै ऐतिहासिक र महत्वपूर्ण सम्पत्ति भएकोले यसको संरक्षण र विकास सम्पूर्ण झापावासीको भएको उल्लेख गर्दै सहयोगका लागि आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारीलाई तीव्र बनाइएको महासचिव श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी फागुन ७ देखि १६ सम्म मेची रङ्गशालामै सम्पन्न हुने प्रतियोगिताको तयारीस्वरुप मैदान स्तरोन्नतिको काम भइरहेको छ भने प्रचार–प्रसारलाई पनि अघि बढाइएको छ । यस वर्षको प्रतियोगिता पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको संस्मरणमा हुने अध्यक्ष ढकालले बताउनु भयो । त्यस्तै, भद्रपुरका उद्यमी दिपक पोखरेल अध्यक्ष रहेको सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, भुटानका स्तरीय क्लबहरूको सहभागिता रहने गोल्ड कपका वरिष्ठ उपाध्यक्ष एवम् टिम व्यवस्थापन समितिका संयोजक आदित्य पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button