खेल र मनोरञ्जन लगायतका स्थल बैशाख १८ सम्म बन्द गर्ने सरकारको निर्णय
सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन लगायतका स्थलहरू आगामी बैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन स्थल, म्युजियम, जिम, हेल्थ क्लब, स्विमिङ्ग पुल, डान्सवार तथा क्लवलाई आगामी वैशाख १८ गतेसम्म बन्द गर्ने र यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत र हिड्डुल नगर्न आग्रह गर्दै सांस्कृतिक एवम् सामाजिक कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो ।
सार्वजनिक सवारी साधनहरूमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सार्वजनिक यातायातका सवारी धनीलाई प्रत्येक दिन सवारीसाधनलाई Disinfection गर्न लगाउने र यसको अनुगमन नेपाल प्रहरी र यातायात व्यवस्था विभागले गर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ ।
युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई यही चैत्र ७ गतेमध्ये रातिदेखि आगामी वैशाख २ गतेसम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाइने मन्त्री डा.खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी बैठकले भोलिदेखि सञ्चालन हुने एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्ने र बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठन पाठन यही चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरू खरिद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दै बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, कालो बजारी र मिसावट गर्नेलाई कानून बमोजिम कारवाही गर्ने निर्णय निर्णय गरेको छ ।
बैठकले कुनै यात्रुले नेपाल सरकारद्वारा Travel Advisory जारी गरेको अवधिको यात्रा स्थगन गरेको अवस्थामा हवाइ टिक रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाइ टिक रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले, गृह मन्त्रालयले जफत गरेको अवैध रूपमा लकाइ राखिएका मास्कहरू मध्ये ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बाँकी मास्क साझा स्वास्थ्य सेवा सहकारी संस्था मार्फत विक्री वितरण गर्ने व्यवस्था गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्