रुपन्देहीमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित
पुनः तीन पालिकाद्वारा विद्यालयहरूमा बिदा
रुपन्देही । रुपन्देही जिल्लामा मङ्गलवारदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण मङ्गलवार आन्तरिक उडान समेत हुन नसकेको र आज बुधबार दुई वटा मात्रै उडान भएको जल तथा मौसम विज्ञान कार्यालय भैरहवा रुपन्देहीले जनाएको छ ।
२:०० बजेसम्म लागेको बाक्लो हुस्सु र शितलहरका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान समेत प्रभावित हुँदा यात्रुलाई समस्या भएको जल तथा मौसम विज्ञान कार्यालयका कार्यालय प्रमुख बरुण पौडेलले बताउनुभयो । मौसम विद् समेत रहनुभएका पौडेलले आज भैरहवाको तापक्रम १४ डिग्री सेल्सियस रहेको बताउनुभयो ।
त्यस्तै, अत्यधिक चिसोका कारण रूपन्देहीको तिलोत्तमा नगरपालिका, मायादेबी गाउँपालिका र गैँडहवा गाउँपालिकाले सबै शैक्षिक संस्थाहरूमा बिदा समेत दिएका छन् ।
यसअघि, चिसो बढेकाले मर्चवारी गाउँपालिका, सम्मरीमाइ गाउँपालिका र कोटहिमाइ गाउँपालिकाले शैक्षिक संस्थामा बिदा दिएका थिए । यससँगै रुपन्देही जिल्लाका ६ वटा पालिकाका विद्यालयमा शैक्षिक संस्थामा बिदा दिइएको छ ।
मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुब नारायण चौधरीले अत्यधिक चिसो बढेपछि शैक्षिक संस्थाहरू पुस २९ गतेसम्म बिदा गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्