तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले एक हजार एकासी सहिद परिवारको बिमा गर्ने

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका पाँच जनाको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको छ ।

मधेश प्रदेशको ८ जिल्लाका १ हजार ८१ जना सहिद परिवारलाई यसै आर्थिक वर्षभित्रमा स्वास्थ्य बिमा गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनुभयो ।

यसका लागि मधेशी सहिद प्रतिष्ठान मार्फत सहिदहरूको तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको जानकारी दिँदै सहिद परिवारका पाँज जना सदस्यलाई उक्त बिमामा आबद्ध भएपछि १ लाखसम्मको स्वास्थ्य उपचार गर्न मिल्ने मन्त्री लेखीले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखीले स्वास्थ्य बिमा गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको बताउँदै यसको शुरुआत माघ ९ गतेबाट गरिने जानकारी दिँदै माघ ५ गते प्रदेश सरकारले सामान्य रुपमा बलिदानी दिवस मनाउने बताउनुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले १ हजार ८१ सहिद परिवारका पाँच जना सदस्यको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य बिमा बोर्डलाई प्रति सहिद परिवार ३ हजार ५ सय बिमा शुल्क तिरिदिने बताउनुभयो ।

उहाँले स्वास्थ्य बिमाको कार्यक्रम यसै आर्थिक वर्षको असार १० गते भित्रमा गरिसक्नु पर्ने प्रावधान भएपनि मधेशी सहिद प्रतिष्ठानको सहयोगमा चाडै शुरुआत गरिने बताउनु भयो । पत्रकार सम्मेलनमा मन्त्रालयका अन्य पदाधिकारीहरू सहभागी रहनुभएको थियो । बिमा मधेश आन्दोलन, सशस्त्र आन्दोलन तथा २०६२–०६३ का आन्दोलनमा सहिद भएका परिवारहरू समेटिने भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button