तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समिति निर्देशन

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले गौरवका आयोजनाहरू मुलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको लागि स्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले खेल मैदान निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य छिटो टुङ्ग्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

खेलकुद क्षेत्रको राष्ट्रिय गौरवका आयोजनाहरूको लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका काम गरेर आयोजनालाई समयमा नै सम्पन्न गर्ने गरी प्रभावकारी रूपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट नभएका कारण समस्या भइरहेको भन्दै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

मन्त्री चौधरीले पटक पटक छलफल गर्दा समेत अर्थमन्त्रालयले स्रोत सुनिश्चित नगरेका कारण खेलकुद मन्त्रालयका बहुुवर्षीय आयोजनाहरू कार्यान्वयनको अवस्थामा नहरेको जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरुले खेलकुद क्षेत्रमा आकर्षण बढिरहेको समयमा सरकारले पूर्वाधार निर्माण गर्न नसकिरहेको, खेलकुद क्षेत्रको विकास गर्ने गरी ऐन संशोधनका लागि मस्यौदा तयार गर्न ढिलाइ गर्न नहुने, संघ सरकारको लगानीका आयोजनाहरू समयमा पुरा हुन नसकेको लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button