निसान फर्काइएको सडकमा पदयात्रा सुरु
मङ्गलबारे । भारतसँग नेपाल एकीकरणमा पूर्वतर्फको सीमामा विजयपश्चात् गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्ने उद्देश्यले आजदेखि निसान मार्ग पदयात्रा शुभारम्भ भएको छ । नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा आज पुस २४ गतेदेखि २६ गतेसम्म पदयात्रा सञ्चालन हुनेछ ।
आज बिहान नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ भएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई नेपालको झण्डा हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गर्नुभयो ।
आज निसान राखिएको ठाउँ पुर्णेडाँडामा बास बस्ने कार्यक्रम रहेको छ । ४१.१ किलोमिटरको पदयात्रामा करिब दुई सयले एकै पटक यात्रा गर्ने आयोजकले जानकारी दिएको छ । पदयात्राको टोलीले २५ गते पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनपछि फेरि निसान फर्काइएको गोरेटो सटकमा नै पदयात्रा हुनेछ ।
निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटारमा भोलि २५ गतेको बास बस्ने कार्यक्रम तय भएको छ । पुस २६ गते बिहान नामसालिङको हात्तीटारबाट सुरु भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा पुग्नेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ ।
निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्व युवा पिँढीले भुल्दै गएको भए पनि पछिल्लो समय यसको जगेर्नामा स्थानीय तह जुटेका छन् ।
नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ । तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्ष ४८ वर्ष पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा गरिने भएको हो । जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसानबिचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्रा गर्न लागिएको हो । निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ ।
सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्वन्द्वका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । २०७४ सालमा पुनः सो निसान इलाममा नै फर्काइएको थियो । सुगौली सन्धिपछि इलाम भित्र्याइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुनः इलाम सारिएको छ ।
भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो ।
तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिका समेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताउनुभयो । उहाँले निसान पृथ्वीनारायण शाहसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताउनुभयो ।
पदयात्रा हुने स्थानका पालिका, वडा र टोल विकास समितिहरूले आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ गरिरहेका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शन समेत हुने भएको छ । जसका लागि सम्बन्धित पालिका र वडाहरूले स्थानीय व्यवस्थापन गरिरहेका छन् ।
निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमा समेत लिइन्छ । नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ ।
यस पटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहने जनाइएको छ । निसानको साङ्केतिक निसानसहित दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्