तपाईँ सुन्दै हुनुहुन्छः

विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा दुई जना पक्राउ

पोखरा । “पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियन सीप–२०२४” का विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

गत चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको आयोजनामा पोखरा २३ बाम्दीमा सञ्चालन भएको उक्त प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार वापतको नगर रकम नदिएको आरोपमा उक्त खेल सञ्चालक तथा निर्देशक जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । 

अछाम सिउँडी गाउँपालिका–१ घर भई हाल पोखरा ६ जरेबर बस्ने ३१ वर्षका डोली र पोखरा ५ प्रस्याङ बस्ने २९ वर्षका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा आएको जाहेरीको आधारमा पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कार्यालयका सूचना अधिकारी वसन्त कुमार शर्माले बताउनुभयो । 

उक्त प्रतियोगितामा दर्ता शुल्क बापत १७ हजार समेत प्रत्येक खेलाडीबाट बुझी लिई सहभागी खेलाडीहरू मध्येबाट प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको १ लाख ५० हजार रुपैयाँ नदिई सम्पर्कविहीन भएको भनी कार्यालयमा जाहेरी दरखास्त दिएपश्चात् यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ शर्माले जनाउनुभयो । 

उक्त प्रतियोगितामा महिला तर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जित्दा पुरुष–ओपन इलाइटमा काठमाडौँका राजेश मगरले उपाधि हात पार्नुभएको थियो । उहाँहरूलाई उपाधिसँगै जनही नगद रु १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो । लामो समय चेक नसाटिएपछि खेलाडीहरूले उजुरी गर्न बाध्य भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button