स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको छ : मन्त्री पौडेल
भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।
ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक सामुदायिक शिक्षण अस्पताल गठ्ठाघरमा स्थापना गरिएको ९ शय्याको अत्याधुनिक लेभल ३ आइसियुको उद्घाटन कार्यक्रममा आज मन्त्री पौडेलले लक्षित समूहले पुर्णरूपमा लाभ लिनेगरी स्वास्थ्य बिमा अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
मन्त्री पौडेलले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत उपलब्ध गराएको भए पनि त्यो आंशिक मात्रै रहेको र आवश्यकता अनुसारको नभएको बताउनुभयो ।
उहाँले नागरिकको योगदानमा आधारित बिमा प्रणाली मात्र प्रभावकारी हुने बताउँदै हालको बिमा प्रणालीलाई रु ५ लाख पुर्याई पूर्ण र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले सरकारी वा निजी जुनसुकै अस्पतालले राज्यले व्यवस्था गरेको कानुनी मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । निजी स्वास्थ्य संस्थाहरूले नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताउँदै उहाँले निजी अस्पतालले आमजनताका लागि दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवा पारदर्शी रुपमा दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पतालका अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि आफूले निजी क्षेत्रबाट सघाइरहेको बताउँदै निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा अस्पतालको ग्रेडिङ गरेर हटाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा.कुन्दनसिंह कार्की, आइसियु विशेषज्ञ डा.अर्जुन कार्की लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
अस्पतालको नयाँ भवन निर्माणका लागि गठ्ठाघरमै ८ रोपनी जग्गा लिइएको र ५ वर्षभित्र २०० बेडको अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्