तपाईँ सुन्दै हुनुहुन्छः

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

घोराही (दाङ) । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ ।

बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटर खेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उहाँ बताउनहुन्छ । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गर्नुभयो । उहाँ १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किनुभएको हो । हाल उहाँ टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ ।

वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उहाँको भनाइ छ । “१० जनालाई रोजगारी दिएको छु”, रोकाले भन्नुभयो, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।” मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उहाँले बताउनुभयो । उहाँले तीन बिघा जग्गा भाडामा लिएर टमाटर खेती गर्नुभएको छ । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उहाँले बताउनुभयो । जग्गाको वार्षिक भाडा रु ९८ हजार तिर्ने गर्नुभएको छ । परिवारमा आठ सदस्य छन् ।

टमाटर खेतीकै कमाइले छोराछोरीलाई शिक्षादीक्षा गराइरहनुभएको छ । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button