फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पाँचथर । पाँचथरको फिदिममा सम्पन्न ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजले हात पारेको छ ।
सोमबार फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा चर्च व्वाइज युनाइटेडले मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा खेलको ४५औँ मिनेटमा मच्छिन्द्रका बिजु भुजेलले १ गोल गरी अग्रता दिलाए ।
खेलको ७८ औँ मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले गोल गर्दै खेलमा फर्किए । यस्तै ८८ मिनेटमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरे । थप समयमा चर्च व्वाइजका समिर तामाङले १ गोल गर्दै बराबरी बनाए । निर्धारित समयमा २÷२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलको म्यान अफ द म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ घोषित भए ।
टाईब्रेकरमा चर्च ब्वाइजलाईका तर्फबाट सुजन दंगोल, छिरिङ लामा, फकुन्ले अबायोनी, रोहन कार्की र एकराज बुढाथोकीले गोल गरे ।
मच्छिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे । दयानन्द इलाङबामले गोल गर्न नसक्दा मच्छिन्द्रले हार बेहोर्नुपर्यो ।
बाइ पाएर क्वाटरफाइनल खेलेको चर्च ब्वाइजले विराटनगर सहटी फुटबल क्लब र सेमी फाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । यस्तै मच्छिन्द्रले झापा एघार, न्यु स्टार क्लब र सेमी फाइनलमा एन.आर.टी. क्लब लाई पराजित गर्दै फाइनल पुगेको थियो ।
बिजेता चर्च व्वाइजले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेता मच्छिन्द्रले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता चर्च व्वाइजका समिर तामाङ घोषित हुँदै एक थान इभी स्कुटर सहित नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट गोल रक्षक चर्च व्वाइजका कृषल मोक्तान, फरवार्ड मच्छिन्द्रका बिजु भुजेल, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ र उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङका मनिश क्षेत्री घोषित भए ।
खेलको म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाएका छन् । यसैगरी, उत्कृष्ट गोल रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०÷ १० हजार प्राप्त गरेका छन् ।
फिदिम स्पोर्टङ क्लबले आयोजना गरेको प्रतियोगितामा ए डिभिजनका ४ टिम सहित १० टिमको सहभागी रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्