जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकार अघि बढिरहेको छ: परराष्ट्र मन्त्री डा. राणा
धनगढी । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका आशा-अपेक्षालाई सम्बोधन हुने गरि अघि बढिरहेको छ ।
धनगढीमा आज नेपाल पत्रकार महासङ्घ, सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा भरोसा बढेको बताउनुभयो ।
मन्त्री राणाले मुलुकमा राजनीतिक विकास भइसकेकाले अब सामाजिक र आर्थिक विकासको आवश्यकता भएको उल्लेख गर्नुहुँदै सरकार सामाजिक र आर्थिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
“सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि लाग्न हुँदैन, काँग्रेस र एमालेको नेतृत्व तहमा समझदारी बनेको छ, सत्ता गठबन्धन पुरै अवधि जान्छ, सरकार सहजीकरणका लागि दुई दलको कार्यदल बनेको छ, “उहाँले भन्नुभयो ।
मन्त्रीले राणाले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पत्रकारिताको समग्र विकासका लागि सरकार लागिपरेको बताउनु भयो ।
आजै धनगढी स्थित नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वदायी ढङ्गले सरकारलाई सफलतापूर्वक अगाडि बढाइरहनु भएको बताउनुभयो ।
“उहाँ हामी सवैका लागी राम्रो प्रधानमन्त्री हुनुहुन्छ, उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ,” मन्त्री राणाले भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री राणाले राजनीतिक विचारलाई आत्मसात गरि पार्टीलाई एकजुट, एकताबद्ध, बलियो बनाएर लैजानु पर्नेमा जोड्दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, काँग्रेस केन्द्रीय सदस्य द्वय योगेन्द्र चौधरी, नृप वड लगायतको नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्