तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरु

बाँके । पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवाको पूर्ण सञ्चालन सुरु गरेको छ।  बुधवारबाट अस्पतालमा जडान गरिएको अत्याधुनिक लिन्याक मेसिन मार्फत पहिलो पटक एक क्यान्सर पीडित बिरामीको सफल सेकाई गरिएको छ।

यस ऐतिहासिक सुरुवातले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीहरूलाई ठूलो राहत पुर्‍याएको छ। यसअघि रेडियोथेरापी उपचारका लागि बिरामीहरूलाई काठमाडौँ, भरतपुर वा भारतको लखनउसम्म जानुपर्ने बाध्यता थियो। अब, यो सेवा उपलब्ध भएपछि समय, पैसा र शारीरिक कठिनाइको सामना गर्नुपरेका बिरामीहरूलाई सहजता मिल्नेछ।

अस्पताल परिवारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान दिने सबै महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। यो सेवाको सुरुवातले पश्चिम नेपालको स्वास्थ्य सेवामा नयाँ युगको शुरुआत गरेको छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आधुनिक प्रविधिको प्रयोग गरी बिरामीहरूको जीवनस्तर सुधार्न र उपचारमा सहजता ल्याउन निरन्तर प्रयास गरिरहेको छ।

अब यस क्षेत्रका क्यान्सर बिरामीहरू स्थानीय रूपमा नै उच्चस्तरीय उपचार पाउने विश्वास गरिएको छ। यस सफलताले अस्पताललाई थप विश्वासिलो र सेवा केन्द्रित बनाएको छ, जसले सम्पूर्ण पश्चिम नेपाललाई स्वास्थ्य क्षेत्रमा एक कदम अगाडि बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button