तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा अनलाइनबाटै राजश्व भुक्तानी

नवलपरासी,पश्चिम्। सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अनलाइनबाटै राजश्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । रामग्रामले सूत्र सफ्टवेयर र मोबाइल एप्लिकेशन मार्फत राजश्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।

विगत लामो समय देखि नगरपालिकाका विभिन्न वडा तथा राजश्व काउन्टरहरूबाट नगदै राजश्व सङ्कलन हुँदै आएकोमा अब नगरबासीको सहजताको लागी अनलाइन मार्फत घरमै बसेर सबै प्रकारका कर तथा दस्तुर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको नगर प्रमुख यादवले बताउनुभयो । जसका लागी नगरवासीले सूत्र सफ्टवेयरको अनलाइन पोर्टल sutrarevenue.fcgo.gov.np र sutra.fcgo.gov.np तथा मोबाइलमा लोकल लेभल रेभिन्यु (local level revenue application ) एप डाउनलोड गरेर पनि राजश्व भुक्तानी गर्न सकिने छ ।

“प्रविधिको बिकास सँगै यो कुराले सेवाग्राहीको समय पनि बचत हुने,कार्यालयमा भिडभाड पनि कम हुने हुन्छ,हामीले सेवाग्राहीको सहजताकालागी कार्यालयलाई प्रविधि मैत्री बनाउनु पर्छ भन्ने कुरामा पनि जोड दिएका छौ,प्रविधिले सेवालाई थप सरलीकरण गर्छ “नगरप्रमुख यादवले भन्नू भयो।

पुष १ गते बाट उक्त सेवा परीक्षणको रुपमा सुरुवात गरिएकाले केही प्राविधिक समस्या देखिएमा क्रमशः समाधान गर्दे जाने नगरपालिकाका लेखा अधिकृत संजय शर्माले जानकारी दिनुभयो । सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल, आय ठेक्का, विभिन्न सिफारिस दस्तुर लगायतका कर तथा दस्तुर सहज रुपमा अनलाइन मार्फत भुक्तानी गर्न सकिने छ ।

अब राजश्व भुक्तानी गर्न नगरपालिका वा वडा कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको शर्माले बताउनुभयो । डाटा माईग्रेट गरेर सेवा सुरु गरिएकाले केही प्राविधिक समस्या देखिएमा क्रमशः समाधान गर्दे जाने उहाँले बताउनुभयो । यो सेवाले नगरबासीलाई निकै सहज हुने उहाँको भनाई छ ।

देशकै दोस्रो नगरपालिकाको रुपमा अनलाइन राजश्व भुक्तानीको व्यवस्था गरिएको नगरपालिकाको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button