सातौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि एपीएफका मगरलाई

नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको सातौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि सुरज राना मगरले जित्नुभएको छ ।
३५ किलोमिटरको एमटीबी पुरुष खुल्ला साइकल दौड प्रतियोगितामा एपीएफमा आवद्ध राष्ट्रिय खेलाडी राना मगरले एपीएफकै अच्यूतकृष्ण खरेललाई पछि पार्दै ५० हजार राशिको उपाधि जित्नुभएको हो ।
द्वितीय हुनुभएका खरेलले २५ हजार पुरस्कार पाउनुभएको छ । जंगु थारु तृतीय हुँदा १५ हजार पुरस्कार पाउनुभयो ।
२५ किलोमिटरको एमटीबी मास्टरमा हर्कबहादुर लामा प्रथम हुनुभएको छ । बाँकेका देव बोहरा द्वितीय र दीपक मल्ल तृतीय हुनुभयो । उहाँहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार पाउनुभएको छ ।
१६ किलोमिटरको एमटीबी स्कुल लेभलमा डेल्सन बोहरा प्रथम, अनमोल गुप्ता द्वितीय र रन्जित चौहान तृतीय हुनुभएको छ । २२ किलोमिटरको साधारण साइकल पुरुषमा विनोद यादव प्रथम, लिखनप्रसाद चौधरी द्वितीय र जगतराम यादव तृतीय हुनुभएको छ । १६ किलोमिटरको साधारण साइकल दौड महिलातर्फ रुपा थारु प्रथम, समिता थारु द्वितीय र मिना कुमारी थारु तृतीय हुनुभएको छ । यी तीन वटै विधाका विजयी प्रतियोगीलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ
नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण कुमार बज्राचार्य, नेपाली सेनाका प्रमुख सेनानी दीपक गुरुङ, नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले यस्ता प्रतियोगिता गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्