स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक
काठमाडौँ । शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकोमा चिकित्सकहरूले जोड दिनुभएको छ ।
विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले आज काठमाडौँको हाँडीगाउमा आयोजना गरेको स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभाग प्रमुख डा.सरोजप्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै डा.ओझाले शरीरलाई सक्रिय र मानलाई शान्त राख्नु पर्ने बताउनुभयो ।
डा.ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो ।
मनोचिकित्सक डा.सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभावमा पार्ने विषयमा संयम अपनाउन सुझाव दिँदै तनावको बेवास्ता नगरी छिटो व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताउनुभयो ।
डा.शाक्यले तनावको व्यवस्थापन र स्वस्थ जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ्य महत्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
अध्यक्ष प्रजापतिले स्वास्थ्य, शिक्षा र वडाको संस्कृति एवं सम्पदाको संरक्षणमा विशेष ध्यान दिने उल्लेख गनुभयो ।
कैलाशकुट सामाजिक अभियानका अध्यक्ष महेश कुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्ने भन्दा पनि रोगै लाग्न नदिनका लागि स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रममा जोड दिइएको बताउनुभयो ।
अभियानले संस्कृति, सम्पदा र स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्