नगरपालिकाको कार्यालयमा विद्यार्थीद्वारा तोडफोड र आगजनी,स्थिति तनावपूर्ण
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा आज बिहान विद्यार्थीहरूले तोडफोड र आगजनी गरेपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । शिक्षक र कर्मचारीले लामो समयदेखि तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेको भन्दै विद्यार्थीहरूले आक्रोश व्यक्त गर्दै कार्यालयमा तोडफोड र आगजनी गरेको बताइएको छ ।
विद्यार्थीहरूले नगरपालिका कार्यालयको ताला तोडेर कुर्सी र टेबल बाहिर सडकमा ल्याई आगजनी गरेका थिए ।स्थानीय रोहित कुमारका अनुसार लेखा शाखाबाहेक अन्य सबै शाखाका कुर्सी, टेबल, र दराज तोडफोड गरिएका छन् । कार्यालयका कागजातहरू भुईँमा छरिएको अवस्थामा फेला परेका छन् ।

घटनास्थलमा पुग्नुभएका पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आगजनी र तोडफोडबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । बाहाले भन्नुभयो “सिसिटिभीको लाइन बन्द गरिएको रहेछ। कार्यालयका सामानलाई बाहिर लगेर आगजनी गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।”
साउन यता बहुदरमाई नगरपालिकामा रहेका १८ सामुदायिक विद्यालयका १९० शिक्षक, ९ स्वास्थ्य चौकीका ४७ स्वास्थ्यकर्मी, र नगरपालिकाका ७५ कर्मचारीले तलब भत्ता पाएका छैनन् । शिक्षकहरूले तलब नपाउँदा विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ भने स्वास्थ्यकर्मीहरूले नियमित सेवा दिन कठिनाइ भोगिरहेका छन् ।
बर्थिङ सेन्टरहरूमा समेत बजेट अभावका कारण गर्भवती र सुत्केरी महिलाहरू सरकारी सुविधाबाट वञ्चित भएका छन्। चेकजाँचका लागि आउने गर्भवती महिलालाई दिने आठ सय रुपैयाँ र सुत्केरी महिलालाई यातायात खर्चको रूपमा वितरण गरिने एक हजार रुपैयाँ पनि उपलब्ध गराइएको छैन ।
त्यसैगरी नगरपालिका अन्तर्गत विकास निर्माणका कामहरू पनि ठप्प भएका छन् । वडा नम्बर ३ का अध्यक्ष दिनेश यादवका अनुसार समयमै बजेट निकासा भएको भए नगरपालिकाभित्रका आधा विकासका काम पूरा भइसक्थे । तर, नगर प्रमुख सिंघासन साह तेलीले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्चको अधिकार नदिँदा बजेट थन्किएको छ ।
स्थानीयहरूका अनुसार नगर प्रमुखको लापरवाहीले शिक्षा, स्वास्थ्य, र विकास निर्माणका कामहरू प्रभावित भएका छन् ।
विद्यार्थीहरूले गरेको तोडफोड र आगजनीप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा संलग्नहरूलाई कानूनी कारबाही गरिने र समस्या समाधानका लागि पहल गरिने पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्