झापा कप फुटबल : एनआरटी क्लब काठमाडौँ सेमिफाइनलमा
भद्रपुर, झापा । कप्तान अञ्जन विष्टको ह्याट्रिक मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । खेलको ४२ औँ मिनेटमा चित्लाङले १ गोल फर्कायो । ६५ औँ मिनेटमा अञ्जनको पासमा एनआरटीका लागि नेमारले अर्को गोल थपे । ६८ औँ मिनेटमा शिशिर लेखीले गोल थप्दै खेललाई ४–० को अवस्थामा पुर्याए । ८८ औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीका अञ्जनले ह्याट्रिक पूरा गरेका थिए । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।
खेलको प्लेयर अफ द म्याच एनआरटीका कप्तान अञ्जन विष्ट भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
आजको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । भोलिको पहिलो सेमिफाइनल खेल सिराहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।
एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट पक्का गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्