प्रधानमन्त्री ओली विरुद्ध अफवाह फैलाउने तत्त्व संगठित रुपमा सक्रिय
काभ्रेपलान्चोक । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध केही व्यक्तिहरू संगठित रुपमा अफवाह फैलाउन सक्रिय रहेको खुलासा भएको छ ।
यही पौष २ गते बिहान काभ्रेको बनेपामा प्रधानमन्त्री केपी शर्मा ओली माथि आक्रमण भएको भन्दै केही व्यक्तिहरूले नक्कली भिडियो तयार गरी शेयर गर्न शुरु गरेका थिए ।
उक्त भिडियो भाइरल गराइयो । प्रहरी, प्रशासन त साँझसम्म उक्त कुरामा अनभिज्ञ नै थियो । त्यतिबेला प्रधानमन्त्री ओली भने ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुनुभएको थियो । सुरक्षा निकायले काभ्रेपलाञ्चोक जिल्लामा प्रधानमन्त्री आउने कुनै कार्यक्रम तय नभएको स्पष्ट पारेको थियो ।
त्यस्तै, मसिंर २९ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत धुलिखेल स्थित काठमाडौ विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा सहभागी हुनुभएको थियो । उहाँ बनेपामा आउने कुनै कार्यक्रम थिएन । कार्यक्रम नै नभएको, सहभागी नभएको र हुँदै नभएको घटनालाई हो जस्तै गरी अन्यत्र सहभागी भएका क्लिप्सहरु राखेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आक्रमण गरी कुटपिटसमेत गरेको भन्दै फेक भिडियो बनाउने र फैलाउने रास्वपा र नेकपा माओवादी निकटका नेता कार्यकर्ता भएको खुलासा भएको छ ।
काभ्रे प्रहरीले उक्त विषयमा आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ । यस अघि पनि प्रधानमन्त्री ओली विरुद्ध त्यस्तै अफवाह फैलाउने सामाग्री सार्वजनिक गरिएको थियो । यतिबेला रास्वपा सभापति तथा पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने सहकारी ठगी अभियोगमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया राख्नुहोस्