तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली प्रेस स्वतन्त्र र जबाफदेही हुनुपर्छ : पूर्वमन्त्री बास्कोटा

काभ्रेपलान्चोक । प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री तथा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका संस्थापक सदस्य गोकुल बास्कोटाले प्रेस स्वतन्त्रता भनेको छाडातन्त्र नभएको बताउनु भएको छ । ‘अनुशासन सहितको स्वनियम भएको स्वतन्त्रताले मात्रै मुलुक निर्माणमा सहयोग पुग्न सक्छ’–बास्कोटाले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको १२ औ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन तथा शाखाको ३२ औ स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा जिम्मेवार, दायित्वबोध सहितको प्रेस स्वतन्त्रता आवश्यक रहेको उहाँले बताउनुभयो । ‘नेपाली प्रेस पूर्ण स्वतन्त्र छ तर जिम्मेवार, जबाफदेही र दायित्व सहितको हुनु पर्छ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो । समाजलाई सुसुचित गर्न, राजनीतिलाई सही मार्गमा हिँडाउन, विधि र कानूनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उहाँको भनाइ थियो ।

 २०४९ पुस २ गते स्थापना भएको नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको स्थापना दिवसको अवसर पारी नयाँ निर्वाचित समितिले पदस्थापन गरेको छ ।

स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य तीर्थ लामा, रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासङ्घ केन्द्रिय समिति कार्यवाहक अध्यक्ष बाला अधिकारी, जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिना, निर्वाचित अध्यक्ष विनोद न्यौपाने, सचिव कपिल कोइराला लगायतले महासङ्घको स्थापना दिवसका अवसरमा प्रेसले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राख्नुभएको थियो । सोही अवसरमा निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

निर्वाचन समितिमा संयोजक पूर्व अध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु पूर्व अध्यक्ष महेश पौड्याल र कानुन व्यवसायी महेश कुँवर हुनुहुन्थ्यो  । निर्वाचनमा तथा अन्य समयमा सहयोग गर्नेहरूलाई कदर र प्रशंसापत्र वितरण गरिएको थियो ।  

१२ औ अधिवेशनबाट महासङ्घको काभ्रे शाखामा विनोदकुमार न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनबाट उपाध्यक्षमा कपिल कोइराला निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा सम्झना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सचिव पदमा नगेन्द्र अधिकारी दोस्रो पटक निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पदमा केशवराज पौडेल निर्वाचित हुनुभएको छ । सहसचिव पदमा देवराज केसी र निरञ्जुल कायस्थ निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा सोविता न्यौपाने र चमार सिं लामा ‘शिशिर’ निर्विरोध निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यहरूमा पुरुषोत्तम ढकाल, ज्ञानमणि नेपाल, मोहनकृष्ण तिमल्सिना, विकास तिमिल्सना, रोशन तिमल्सिना, रञ्जित बोहोरा, शरण हुमागाईँ निर्वाचित हुनुभएको छ । केन्द्रिय प्रतिनिधि परिषदमा प्रदीप केसी निर्वाचित हुनुभएको छ । प्रदेश सभा प्रतिनिधिमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खँदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरि श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button