मुख्यमन्त्री कार्कीद्वारा चिया परिक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्रकाे उद्घाटन
चियाको अनुसन्धान बजारीकरण गुणस्तरीय चिया उत्पादनमा केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने
इलाम I इलामको सूर्योदय नगरपालिका ७ कन्याममा निमार्ण भएको चिया परिक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्र उद्घाटन भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक कार्यक्रमका बिच केन्द्रको उद्घाटन गर्नु भएको हो ।
कोशी प्रदेश र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा चिया परिक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्र २१ करोड ६ लाख ७९ हजार ५ सय २६ रुपैयाँको लागतमा निमार्ण भएको नगरपालिकाका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो ।
केन्द्रबाट चिया परिक्षण चियाको बजार खोजी अनुसन्धान सबै हुने सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।
अब केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ । आवश्यक थप उपकरण व्यवस्थापन अब चाडै हुने नगरप्रमुख राईले बताउनुभयो । मेयर राईले इलामका लागि मात्र होइन सेन्टर देशकै लागि नमुना हुने र चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबैखाले अध्ययन यही केन्द्रमा हुने जानकारी दिनु भयो ।
केन्द्र उद्घाटन गर्दे मुख्य मन्त्री कार्कीले कोशी प्रदेशकै लागि गौरवको योजना भएको भन्दै अब चियाको अनुसन्धान बजारीकरण गुणस्तरीय चिया उत्पादनमा केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने र यसको सफलरुपमा सञ्चालनको लागि सूर्योदय नगरपालिका समेतको साथमा कोशी प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निर्देशक डा. दिपक खनालले परीक्षण केन्द्र सञ्चालनका लागि बोर्डले प्राविधिक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा इलाम क्षेत्र न १ बाट निर्वाचित सघिंय सांसद महेश बस्नेत कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङनाम कोशी प्रदेश पूर्व मन्त्री खिनु लङवा लिम्बु कोशी प्रदेश सुशासन तथा योजना समिति सभापति खगेश्वरी अधिकारी सबिधान सभा सदस्य टिकाराम सुब्बा लेप्चा लगायत सरोकारवालहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चिया उद्योगीहरू पुनम बान्तवा उदय चापागाईँ लगायत चिया क्षेत्रमा योगदान दिने विभिन्न ब्यत्तिहरु समेतलाई सम्मान गरिएको छ ।
अब केन्द्रमा विश्वभरका जो–कोही चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ)ले चियाको गुणस्तर जाँच गर्न सक्ने छन् भने कन्याम घुम्न आउने पर्यटकले समेत थरिथरिका चिया चाख्न पाउने भएका छन् ।
सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । टि टेस्टिङ नगरअन्तर्गत नै हुने तर अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने र आवश्यक उपकरण जडान पछि चाडै नै पुर्णरुपमा सञ्चालनमा आउने सूर्योदय नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्