वरिष्ठ अधिवक्ता श्रेष्ठलाई भजनराम मानव अधिकार पुरस्कार प्रदान

बाँके । वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठलाई यो वर्षको भजनराम मानव अधिकार पुरस्कार प्रदान गरिएको छ ।
भजनराम स्मृति अक्षय कोष बाँकेले अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसको अवसर पारेर सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश चन्द्र बहादुर सारुले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको थियो ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने भजनराम मानव अधिकार पुरस्कारका लागि अधिवक्ता बिश्वजित तिवारीको संयोजकत्वमा पुरस्कार छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा भजनराम स्मृति अक्षय कोषले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरेको भजनराम स्मृति अक्षय कोषका अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसको अवसरमा एडभोकेसी फोरम नेपाल, नेपाल बार एसोसिएसन, इन्सेक, मानव अधिकार सञ्जालमा आवद्ध विभिन्न अधिकारवादी संघ संस्थाद्वारा आयोजित कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश सारुले मानव अधिकारको संरक्षणमा अदालत गम्भीर भएर लागेको बताउँदै मानवले सम्मानपूर्वक बाच्न पाउने अवस्थाको यात्रामा सबै लाग्नु पर्ने जिकिर गर्नु भएको थियो ।

अधिवक्ता बसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक एपि जोशी, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत लगायतका वक्ताले नागरिकको सबै प्रकारका मानव अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनु भएको थियो । ।








प्रतिक्रिया राख्नुहोस्