उत्पादनमा ह्रास आएपछि अण्डाको मूल्य बढ्यो
चितवन । देशभर अण्डाको मूल्य बढेको छ । भोली शनिवारबाट लागु हुने गरी ठूलो अण्डाको फाम रेट प्रति क्रेट (३० वटाको) रु ४७० र मझौलाको रु ४५५ कायम गरिएको छ ।
नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार दुई साता देखि अण्डाको मूल्य क्रमशः बढ्दै आएको हो । पोखरेलका अनुसार जाडो मौसमका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको मूल्यमा वृद्धि भएको हो ।
पोख्रेलका अनुसार यस अघि अण्डाको मूल्य रु ५०५ सम्म पुगेर क्रमशः घटेको थियो । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । लागत मूल्य नजिक अण्डा बिक्री गर्न पाएपछि किसान खुसी भएका हुन् ।
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।
नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो । किसानले पालेका अण्डा उत्पादन गर्ने कुखुरा बिक्री भएको र नयाँ चल्ला कम हुर्किएकाले उत्पादन घटेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्