जलवायु परिवर्तनको असर कृषिमा बढी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपालमा वर्षेनी प्राकृतिक प्रकोपहरू बढ्न थालेकाले प्रभावित मुलुकहरू जलवायु न्यायका लागि एकजुट हुन आवश्यक भएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जलवायु प्रभावकै कारण समाजमा गरिबी बढेको र कृषि उत्पादनमा समेत गम्भीर असर देखापरेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले जलवायु परिवर्तन कृषिमा उत्पादन घट्न थालेपछि किसानहरु कृषि व्यवसाय छाडेर वैदेशिक रोजगारी तर्फ लाग्ने गरेको बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले जलवायु परिवर्तनको असर विभिन्न क्षेत्रमा देखिन थालेकाले त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा योजनाहरू बनाइनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजङ्ग बरालले विश्वमै वृद्धि भएको तापमानले नेपाल लगायतका देशमा बढी असर पर्ने गरेकाले त्यसलाई सम्बोधन गर्ने कार्यक्रमहरू आवश्यक भएको बताउनुभयो ।
यस अवसरमा नेपाल, चीन भारत, बङ्गलादेशलगायतका विश्वविद्यालयको सहकार्यमा मौसम परिवर्तनका असरले पुर्याएको क्षतिका विषयमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्