तपाईँ सुन्दै हुनुहुन्छः

कान्ति भैरव गुरुकुल विद्यालयमा आध्यात्मिक कविता वाचन

काठमाडौँ । कान्ति भैरव गुरुकुल विद्यालयले विद्यालय स्तरीय आध्यात्मिक कविता वाचन प्रतियोगिता गरेको छ ।

कान्ति भैरव गुरुकुल र राधामाधव समिति श्यामाश्याम धाम ठिमीले आज कान्ति भैरव गुरुकुल गोकर्णेश्वर उत्तर वाहिनीमा आयोजना गरेको प्रतियोगितामा काठमाडौँ उपत्यका गुरुकुल तथा संस्कृत पठनपाठन हुने ११ गुरुकुल एवं विद्यालयका १५ जना छात्र छनोट भएका थिए ।

प्रतियोगितामा सोम सरला विद्यालयका आकाश अधिकारी प्रथम, नैमिषारण्य संस्कृत गुरुकुलका ऋषभ ढुङ्गाना द्वितीय, सोम सरलाकै रोचक रेग्मी तृतीय र कान्ति भैरव गुरुकुलका योगेश उपाध्याय र ब्रह्मेश्वर वेद विद्याश्रमका कृतक ढुङ्गानाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

पुरस्कृत छात्रहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा श्री बेङ्कटेश गुरुकुल बत्तिस पुतली, श्री विराट सनातन धर्म संस्कृति विद्यापीठ काभ्रेस्थली, ज्ञानसागर विद्यालय, जगद्गुरु आदर्श संस्कृत गुरुकुल शंखमुल, नेपाल वेद विद्याश्रम पशुपति, बुढानीलकण्ठ वेद विद्याश्रम लगायतका गुरुकुल एवं विद्यालयको सहभागिता थियो ।

निर्णायकका तर्फबाट साहित्यकार गोविन्द घिमिरे वेदमणि र प्रभा भट्टराई आचार्यले विद्यालय स्तरका छात्रहरूले गरेको उत्कृष्ट कविता वाचन गुरुकुल शिक्षाको देन भएको बताउनुभयो ।

उहाँहरूले भाषिक प्राञ्जलता र छन्दको कठोर नियम भित्र रहेर गरिएको साहित्यिक रचनाले अध्यात्मलाई उजागर गरेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय सभाका सांसद विष्णुदेवी पुडासैनीले नेपालको प्राचीन शिक्षा प्रणाली गुरुकुल शिक्षाको विकासमा राज्यले थप सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले बालिकाहरूको लागि पनि छुट्टै छात्रा गुरुकुलको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार विजय चालिसेले गुरुकुल शिक्षा प्रणाली नेपालको मौलिक प्रणाली भएकोले यसको विकास र विस्तार आवश्यक रहेको बताउनुभयो ।

वैदिक ज्ञान र पूर्वीय संस्कृतिको व्यापक प्रचार प्रसार गरेर नेपाललाई विश्वसामु परिचित गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गुरुकुलका संस्थापक प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महत,राधामाधव समितिका कार्यवाहक अध्यक्ष सुरेश प्रकाश आचार्य, जयतु संस्कृतमका अध्यक्ष डाक्टर बद्री पोखरेल, डाक्टर हरिहर प्रदीप ढकाल, प्राध्यापक डाक्टर श्रीराम अधिकारी, हरिभक्त सिग्देल र रामचन्द्र घिमिरेले अध्यात्ममा आधारित विद्यार्थीको सृजनशीलताले पठनपाठनमा सहयोग पुगेको बताउनुभयो ।

त्यस अवसरका नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कान्ति भैरव गुरुकुल सञ्चाल सहयोगार्थ नगद ५ लाख प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button