तपाईँ सुन्दै हुनुहुन्छः

जति काम गर्न सक्यो त्यो नै प्रश्नको जवाफ हुन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यति नै प्रदेश संरचना माथि उठेका प्रश्नको जवाफ हुने बताउनुभएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमवार पोखरामा आयोजना गरेको समीक्षा कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यति नै प्रदेश संरचना माथि उठेका प्रश्नको जवाफ हुने बताउनुभयो ।

सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेश माथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार हुन आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले काम छिटो र गुणस्तरमा पनि ध्यान दिन कार्यालय प्रमुखहरूलाई सुझाव दिनुभयो ।

पूर्वाधार बिकास तर्फ पहिलो चौमासिकमा १० प्रतिशत प्रगति भएको छ । गत वर्षको यो अवधिमा करिब ७ प्रतिशत प्रगति थियो । ‘यो प्रक्रियागत चरण हो, ठेक्का लगाउने समय हो, दोस्रो, तेस्रो चौमासिकमा प्रगति बढ्ने नै छ’ मुख्यमन्त्री पाण्डेले मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै भन्नुभयो ‘यस वर्षको अन्त्यसम्म ८० प्रतिशत भन्दा बढी प्रगति गर्ने गरी काम गर्नुहोला ।’

विगतमा भन्दा ‘क्रोनिक’ योजना कम भएको बताउँदै उहाँले सम्पन्न हुने योजनामा बजेट अभाव हुन नदिन सरकारको प्रयास रहने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button