तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा–१२ मा स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

हेटौंडा । स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत हेटौंडा–१२ वडामा आज मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत अवानी मैनालीका अनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।

मतदाताहरू बिहान ४ बजैदेखि नै मतदान केन्द्रमा लाइनमा बसेका थिए। यो उपनिर्वाचन स्थानीय वडाध्यक्ष ललित घलानको जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको ठाउँमा आयोजित गरिएको हो।

निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले यस वडामा कुल ८,०५३ मतदाता रहेको र गत स्थानीय तहको निर्वाचनको तुलनामा १,५८८ मतदाता थप भएको जानकारी दिए। मतदातामध्ये ४,४२८ पुरुष र ३,६२५ महिला छन्।
मतदान प्रक्रियाका लागि प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ गरी कुल ९ वटा मतदान केन्द्र स्थापना गरिएको छ। वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

विभिन्न राजनीतिक दलतर्फका उम्मेदवारहरूमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुन प्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान लगायत अन्य दलका प्रतिनिधिहरू छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारतर्फ अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन्।मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button