तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरगंगा गाउँपालिका ‘अति संवेदनशील’

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रमा वर्गीकरण गरिएको छ । २०७९ वैशाख ३० मा भएको स्थानीय तह चुनावको विश्लेषणको आधारमा मंसिर १६ गते हुन गईरहेको उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रमा वर्गीकरण गरिएको हो ।

रुकुम पूर्वसहित सप्तरीको डाक्नेश्वरी गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई पनि ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरिएको गृह मन्त्रालयले जनाएको छ । डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाड नगरपालिकामा उपप्रमुखको निर्वाचन हुँदैछ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ भने संवेदनशील मतदानस्थलमा १४ जना र सुरक्षाको दृष्टिकोणले सामान्य मतदान स्थलमा १२ जना प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।

साथै उपनिर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । सुरक्षा घेराको पहिलो तहमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना रहन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाको लागि आवश्यकता अनुसार सेना परिचालन गर्न यस अघिनै सरकारलाई अनुमति दिईसक्नुभएको छ । यसपटकको स्थानीय तह उपनिर्वाचनमा २ लाख ३५ हजार ४९५ मतदाता रहेकोमा पुथा उत्तरगंगा गाउँपालिकाको उप निर्वाचनमा मताधिकार प्रयोग गर्न गाउँपालिकाभर ११ हजार १ सय ८० मतदाता छन् ।

२०७९ वैशाख ३० भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढाको गाडी दुर्घटनामा परी निधन भएपछि यहाँ उप निर्वाचन हुन लागेको हो । गत भदौ २८ गते बाग्लुङमा भएको गाडी दुर्घटनामा परी उपाध्यक्ष बुढा सहित २ नम्बर वडाध्यक्ष जसबहादुर शेर्पाली, उपाध्यक्षकी आमा गोपीमाया बुढाको निधन भएको थियो । उपाध्यक्षको निधनपछि हुन लागेको उप निर्वाचनमा दुई जनाबीच प्रतिसप्रधा हुँदैछ ।

माओवादी केन्द्रकी नरपुरा बुढा पुन र कांग्रेसको चुनाव चिह्न लिएकी एमालेकी केशकुमारी तुलाचन चुनावी मैदानमा हुनुहुन्छ । २ नम्बर वडाध्यक्षमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button