आन्तरिक पर्यटक तान्दै रमिते भ्यू टावर

पाँचथर । पछिल्लो समय फिदिम नगरपालिका वडा नं २ स्थित रमिते भ्यू टावरमा आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । सदमुकाम फिदिम बजारदेखि नौ किलोमिटरको छोटो दुरी तथा मेची राजमार्गको नजिकै रहेको टावरबाट मनमोहक सुन्दर दृष्यावलोकन, शितल र स्वच्छ हावाको स्पर्श हुनेहुँदा रिफ्रेस हुन, रम्न–रमाउनका लागि पर्यटकहरुका लागि यो स्थान उपयुक्त बनेको छ ।
यीनै बिशेषताका कारण रमिते भ्यू टावरमा दैनिक आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । टावर नयाँ सहर आयोजनाको तीन करोड नौ लाख लागतमा भर्खरै निमार्ण सम्पन्न भएको हो ।

टावरबाट वरिपरी हरियाली डाँडाकाडाले घेरिएको, बीचको समतल भू–भागमा बसेको, एककिसिमले मिनी उपत्यकाको झल्को दिने पाँचथर सदरमुकाम फिदिम बजारको सुन्दर दृष्य देखिन्छ ।
छिमेकी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार र ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पनि देखिन्छ । फिदिम–२, का वडाअध्यक्ष सुकपाल तुम्बापोले भन्नुभयो–एकै स्थानबाट तीन जिल्लाको सदरमुकाम नियाल्न सकिने सम्भवतः यो नेपालकै एकमात्र स्थान हो । टावरबाट देखिने सदाबहार सेताम्मै देखिने हिमालको दृष्यले धेरैको मन लोभ्याउछ । विश्वको सर्बोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमश्रृङ्खला यहाँबाट हेर्न सकिन्छ । फिदिम बजारबाट एकैछिनमा पुगिने, गज्जबले रिफ्रेस भइने, निकै रमाइलो ठाउँ रहेको रमिते टावरमा भेटिनुभएका नेकपाका युवा नेता जलकुमार तामाङ्गले बताउनुभयो । रमितेको वातावरण नै सारै रमाइलो लाग्ने र बजारको भीडभाड, हल्लाखल्लासँग थोरै समय भए पनि भाग्न साथीभाईसँग हप्तामा एक÷दुई पटक रमिते पुग्ने गरेको सञ्चारकर्मी सम्झना योङहाङले बताउनुभयो ।

६ रोपनी क्षेत्रफलमा फैलिएको भ्यू टावर परिषरमा चमेनागृह, ग्यालरी हाउस, हावाघर, पोखरी र बगैंचा लगायत निर्माण गरिएका छन् । भ्यू टावर निर्माणका लागि स्थानीय बुद्धराज लिम्बू, धनबहादुर राई र रामबहादुर तुम्बापोले जग्गा उपलब्ध गराउनु भएको हो ।
भ्यू टावरदेखि ललीखर्क सामुदायीक होमस्टे क्षेत्र हुँदै राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमि लब्रेकुटि जोड्ने सिढिमार्गको निर्माणकार्य थालिएको छ । भ्यू टावरदेखि सदरमुकाम फिदिम बजार जोड्ने सिढिमार्ग पनि निर्माण गरिने फिदिम नगरपालिकाले जनाएको छ । भ्यू टावर निर्माण भएपछि दैनिक दर्जनौं आन्तरिक पर्यटक भ्यू टावर पुग्ने गरेका छन् ।

धार्मिक पर्यटकीय पदमार्गको रुपमा बिकास गर्न लागिएको इलामको गजुरमुखिदेखि–पाँचथरको लब्रेकुटि सम्मको फाल्गुनन्द सर्किटसँग जोड्नेगरी सिढिमार्ग निर्माण थालिएको फिदिम नगरपालिकाले जनाएको छ । सिढिमार्ग निर्माणकार्य सम्पन्न भएसँगै रमितेमा पर्यटकको संख्यामा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्