नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
पर्सा । नारायणी अस्पताल वीरगञ्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालका अनुसार एक साताभित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले एक साताभित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । “स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यकपर्ने मेमोग्राम मेसिन अस्पतालमा आएसँगै बायो मेडिकल इन्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी गरिरहेका छन् । एक साताभित्र जडान गरिसक्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो ।
मेसु दासले मेमोग्राम जडान भएसँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो । “सेवा सुरु भएपछि स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ”, उहाँले भन्नुभयो । सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उक्त उपकरण यहाँ ल्याइएको हो ।
प्रतिक्रिया राख्नुहोस्