गुठीको जग्गा खोज्न तदर्थ समिति
दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरलाई प्रत्येक बर्ष कार्तिक महिनाको पूर्णिमाको दिन महास्नान गराउन परापूर्व कालदेखि सक्रिय महास्नान गुठी विगत केही वर्षदेखि निष्क्रिय बनेपछि परम्परागत उक्त संस्कृति अघि बढाउन समस्या देखिएको छ ।
परम्परागत संस्कृति अनुसार प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन भीमेश्वर मन्दिरमा गुठियारको तर्फबाट तोरीको तेल, मह, दही, दूधलगायतले महास्नान गराउने र रागो काट्ने प्रचलन रहेको छ । त्यसरी महास्नान गरेर रागो काटेपछि चार दिनसम्म बलि पूजा नचल्ने परम्परा रहेको छ ।
महास्नान गुठी निष्क्रिय बनेको र तत्कालीन गुठियारहरू ले २०५१ सालको नापीमा गुठीको जग्गा आफ्नो नाममा गरेपछि आय श्रोतको समेत अभावमा महास्नान र खड्ग जात्रामा समस्या देखिएकोले महास्नान गुठी सञ्चालनको लागि गुठियारहरू कै पहलमा ८५ वर्षीय ज्येष्ठ नागरिक भीमसेन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सचिव शम्भु श्रेष्ठ र कोषाध्यक्ष रञ्जित श्रेष्ठ रहेका छन् ।
त्यसैगरी तदर्थ समितिको सदस्यहरूमा गम्भीर श्रेष्ठ, बाल गोपाल श्रेष्ठ, शान्ति श्रेष्ठ र दुर्गा श्रेष्ठ रहेका छन् ।
गुठियारहरूको भेलाले तदर्थ समितिलाई तत्कालै सरकारको आधिकारिक निकायमा महास्नान गुठीको नाममा दर्ता गर्ने र विहार्छे तथा डाँडाथोक टोलमा रहेको महास्नान गुठीको नामको जग्गा– जमिनको खोजिगरी पुनः त्यसलाई गुठीकै नाममा ल्याउन पहल गर्ने निर्णय गरेको तदर्थ समितिको महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनुभयो ।
त्यसरी विगतमा गुठीको नाममा रहेको जग्गा पुनः गुठीकै नाममा ल्याएपछि त्यसैको आयस्रोतले परम्परागत संस्कृति अनुसार प्रत्येक बर्ष भीमेश्वरलाई महास्नान गराउन र खड्गे जात्रा सहज ढङ्गले सञ्चालन गर्न सहयोग पुग्ने महासचिव श्रेष्ठले बुताउनुभयो ।
विगतमा विहार्छे टोल र डाडाँथोक टोलका गुठियारले तोरीको तेल, दही, दूध, घ्यु लगायतका सामग्री उपलब्ध गराई त्यसैबाट भीमेश्वरलाई महास्नान र खड्गे जात्रा समेत सञ्चालन गरिँदै आएकोमा पछि त्यो काम बन्द भएको महासचिव श्रेष्ठको भनाई छ । महास्नान गुठीमा दुई टोलका सबै परिवार गरी झण्डै तीन सय जना आवद्ध रहेको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्