लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक
बाँके । चालु आर्थिक वर्षमा पनि लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ। विगतका वर्षहरूमा पनि सरकारको खर्च प्रगति निराशाजनकै थियो ।
चालु आर्थिक वर्षका लागि लुम्बिनी सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट ल्याएको थियो। जसमा साउनदेखि असोज मसान्तसम्म ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ मात्रै खर्च भएको छ। जुन कुल बजेटको ९.४३ प्रतिशत मात्रै हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेटमा १ अर्ब ९९ करोड ५२ लाख ६२ रुपैयाँ खर्च भएको छ। जुन ८.१२ प्रतिशत हो । त्यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बजेटमध्ये १ अर्ब ६८ करोड ६ लाख खर्च भएको छ। कुल बजेटको यो ११.६८ प्रतिशत हो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पहिलो त्रैमासिक अवधिमा पुँजीगततर्फ १०.५५ प्रतिशत खर्च गर्दा चालु तर्फ ८.५७ प्रतिशत बजेट खर्च भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन महिनामा १.६४ प्रतिशत पुँजीगत खर्च गर्दा चालु खर्च ६.९९ प्रतिशत रहेको छ। असोज मसान्तसम्म प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जम्मा ६.०८प्रतिशत बजेट खर्च गरेको छ। जसमा पुँजीगत ५.६४ प्रतिशत र चालुतर्फ १५.८० प्रतिशत खर्च भएको छ। प्रदेशको ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयको पुँजीगत खर्च ७.९० प्रतिशत र चालुतर्फ १७.२४ प्रतिशत खर्च भएको छ। खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको पुँजीगत खर्च ९.१० प्रतिशत हुँदा चालुमा १३.३९ प्रतिशत बजेट खर्च भएको देखिन्छ । स्वास्थ्य मन्त्रालयको पुँजीगत तर्फ २५.९६ प्रतिशत बजेट खर्च भएको छ। यो मन्त्रालयले चालुतर्फ १३.५१ प्रतिशत बजेट खर्च गरेको छ।
प्रतिक्रिया राख्नुहोस्