तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिका–१२ मा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर।  हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनको तयारीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । 

शुक्रबार जिल्ला समन्वय समिति प्रमुख ललित घलान र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभयो ।

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको सम्पूर्ण व्यवस्थापन सम्बन्धी कार्य यसै कार्यालयबाट हुने मुख्य निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो। 

निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको छ। 

वाग्मती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन्। जसमध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला छन् । मतदानका लागि प्रतिभा माविमा पाँच र विष्णु ज्योति माविमा चार गरी कुल नौ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। 

यस अघि वडा अध्यक्षमा निर्वाचित ललित घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएपछि  हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पद रिक्त भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button