राप्ती नदीमा ‘कार्तिक स्नान’ गर्नेको घुइँचो
नेपालगञ्ज । बाँकेस्थित राप्ती नदीमा कार्तिक स्नान गर्नेको घुइँचो लागेको छ । कार्तिक पूर्णिमाको दिन आज बिहानैदेखि नदी किनारमा कार्तिक स्नानु गर्ने मानिसहरूको भीड छ ।
नदीमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्न लगायतका दान पण्डितलाई दिने गरिएको पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । “यो स्नानको ठूलो महत्व छ, यो स्नान गर्दा माघे सङ्क्रान्तिका दिन स्नान गरिएको जति फल मिल्छ, उहाँले भन्नुभयो, ‘सूर्य भगवानको विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्मरोगसम्बन्धि समस्या समेत निराकरण हुन्छ ।’
कार्तिक शुक्ल पूर्णिमाका अवसरमा बाँकेका विभिन्न ठाउँमा मेला पनि सुरु भएका छन् । राप्तीसोनारी(२ टिकुलीपुरमा डिग्रे साइकुमारीको मेला सुरु भएको छ । रुकुम जिल्लाको आस्थाको केन्द्र डिग्रे साइकुमारी देवीको स्मरण गर्दै तीन दिने मेला सुरु भएको हो ।
यस्तै जानकी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला पनि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगा गाउँ र वडा नम्बर ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष पनि आजदेखि तीन दिने मेला सुरु भएको हो ।
पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । यसैबीच नरैनापुर गाउँपालिकाले कार्तिक पूर्णिमामा सार्वजनिक बिदा दिएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्