ईश्वरपुरमा निःशुल्क आँखा शिविर, ७ सय ३६ जनाले लिए सेवा
सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज तेस्रो दिन पनि निःशुल्क आँखा शिविर चलेको छ । शिविरमा तिन दिनमा ७ सय ३६ जनाले निःशुल्क आँखाको जाँच गराएका छन् भने आज १ सय २ जनाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । यो शिविर ईश्वरपुर नगरपालिका, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य सङ्गठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरसँगको समन्वयमा सञ्चालन गरिएको हो ।
मङ्गलवारदेखि सुरु भएको निःशुल्क आँखा शिविरमा बुधवार र आजको गरी ७ सय ३६ बिरामीको आँखा जाँच गरिएको भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो । आज मोतियाबिन्दु र मासु पलाएको अपरेशन गरिएको संयोजक घिमिरेले जानकारी दिनुभयो ।
पहिलो दिन मङ्गलवार १७५ जना मध्ये ५४ बिरामी, दोस्रो दिन २३५ जनामा ७६ र तेस्रो दिन आज २२६ जना मध्ये ७१ जना बिरामीहरूलाई अपरेशनका लागि सिफारिस गरिएको संयोजक घिमिरेले बताउनुभयो । अब भोली र पर्सी सम्म आँखाको परीक्षण गरिने र मोतियाबिन्दु र मासु पलाएको बिरामीको अपरेसन ईश्वरपुर–९, गैचरण स्थित आँखा उपचार केन्द्रमा मङ्सिर २ गतेसम्म गरिने छ ।
शिविरमा निःशुल्क चस्मा तथा आवश्यक औषधि पनि वितरण भइरहेको ईश्वरपुरका शिक्षक तथा समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिनुभयो । यसैगरी तीन दिनदेखि चलिरहेको शिविरमा नगर प्रमुख मनोज कुमार आचार्यले अनुगमन समेत गरिरहेको समाजसेवी युवा चौधरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्