छठ उल्लास : नेपालगञ्जमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
नेपालगञ्ज । नेपालगञ्जको मुख्य छठघाट बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
झकिझकाउ पारिएको छठी घाटमा ठूलो सङ्ख्यामा उपस्थित ब्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।
सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको उल्लास नेपालगञ्जमा पनि बढेको छ । हरेक वर्ष पूजा गर्नेको सङ्ख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको उल्लास बढ्दै गएको हो । छठ पर्वमा पूजा गर्नेहरू बढ्दा केही वर्षयता नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । तलाउ क्षेत्रमा टेण्ट सजावट, बिजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाई गरिएको छ । भारतको कोलकाताबाट कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।
पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको छ । चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ समापन हुने गर्दछ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ सकिनेछ ।
प्रतिक्रिया राख्नुहोस्