तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय नगर पोखरामा तिहारको रमझम: लेकसाइडमा देउसी भैलोमा विदेशी पर्यटक रमाउँदै

पोखरा । नेपालीहरूको चार्ड तिहार पर्वको अवसरमा पर्यटनको राजधानी पोखरामा पहल बढेको छ । पोखरा क्षेत्रको बजारमा किनमेल गर्नेहरूदेखि पोखराका विभिन्न ठाउँमा देउसी भैलो खेल्नेहरूको भिडभाड हिजोदेखि बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले बताउनु भयो ।

पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा भने देउसी भैलो खेलको विदेशी पर्यटकहरूले निकै रुचि पूर्ण ढङ्गबाट अवलोकन गर्दै मनोरञ्जन लिने गरेको उहाँले जनाउनु भयो । लेकसाइड क्षेत्रमा राति अबेरसम्म विभिन्न स्थानमा देउसी भैलो खेल्दा सो क्षेत्रमा चहल पहल बढेको हो । नेपाली कला संस्कृति झल्कने नेपालीपन भन्दा पश्चिमा मुलुकको गीत सङ्गीतमा समेत देउसी भैलो खेल्नेक्रम पोखरामा बढ्दो रहेको छ ।

पोखरामा हाल होटल अकुपेन्सि पनि करिब ६० प्रतिशत रहेको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जनाउनु भयो । पछिल्लो समयमा तेस्रो मुलुकका पर्यटकहरूको आगमनमा केही वृद्धि भएको उहाँले जनाउनु भयो । हाल पदमार्गमा गएका आन्तरिक तथा बाह्य पर्यटकहरू समेत पोखरामा फर्किएकाले गर्दा पनि पर्यटकको पहल पहल केही बढेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

पोखराका मुख्यचोक देखि बजार क्षेत्रमा तिहार पर्वको लागि आवश्यक पर्ने खाद्य तथा उपहार एवं भाइ मसला किन्नेहरूको समेत भिडभाड भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो तथा नाचगान जस्ता कार्यहरू गुनासो रहित तवरले सञ्चालन गर्नुहुन एवम् सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नु आग्रह गरेको छ । त्यसै गरी प्रशासनले  पटका, आतिसबाजी, झरझरे, भुइँचम्पा जस्ता विस्फोटकजन्य पदार्थ प्रयोग नगर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button