मुआब्जा पाएपनि संरचना भत्काउन डडेल्धुरा सदरमुकामका घरधनीको अटेरी
डडेल्धुरा। सडक बिस्तारका लागि मुआब्जा वितरण गरेको लामो समय सम्म पनि घरधनीले संरचना नभत्काएपछि अन्तिम पटकका लागि ३५ दिनको समयावधि दिइने निर्णय भएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संरचना भत्काउन अन्तिम पटक ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
सदरमुकामको बागबजारदेखि उग्रतारा मन्दिरको मुल गेटसम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ ।
तर मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि अन्तिम पटकका लागि समय दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । यस्तै सोही बैठकले राजमार्ग छेउछाउ निर्माण भएका घर टहराको तत्काल विवरण सङ्कलन गरी त्यस्ता घर टहरा हटाउन अमरगढी नगरपालिका, सडक डिभिजन र डिभिजन वन कार्यालयले आपसी समन्वय गरी अतिक्रमण खाली गर्न ३५ दिनको सूचना जारी गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्