तपाईँ सुन्दै हुनुहुन्छः

बिद्यार्थीहरुद्वारा गुल्मीमा मखमली र सयपत्री फुल खेती

गुल्मी । गुल्मीको तुराङ बहुप्राबिधिक शिक्षालयका विद्यार्थीहरूले मखमली र सयपत्रीको फुल खेती गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका –८ अन्तरगत मजुवामा रहेको शिक्षालयमा तीन बर्से स्नातक तह कृषि बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी र शिक्षालयको सहयोगमा तिहार लक्षित गरेर छरेको सयपत्री र मखमली फुलले बगैँचा ढकमक्क बनाएको छ । 

२०७८ सालमा स्थापित सिटिइभिटीको आङ्गिकको रूपमा रहेको प्राविधिक शिक्षालयले विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्य अनुरुप १० रोपनी जग्गा भाडामा लिएर कृषि  अभ्यास गराउँदै  आइरहेको छ । कृषिलाई उद्यमशीलतासँग जोड्दै स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले बिद्यार्थीहरु मार्फत विभिन्न काम गर्दै आएको शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले बताउनुभयो । उहाँले अहिले चाडपर्वलाई लक्षित गर्दै मखमली फुल र सयपत्री फुल रोपिएको जानकारी दिनुभयो ।

 प्राविधिक शिक्षालयले बिद्यार्थीहरुले अहिले तीन रोपनी जग्गामा फुल र सात रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । बगैँचामा उत्पादन भएको फुलको माग बजारमा अत्यधिक रहेको छ । स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म फुलहरू पठाउने गरेको शिक्षालयको कृषि प्राविधिक रोशनी बन्जाडेले बताउनु भयो । अहिले एक क्विन्टल भन्दा धेरै फुलको माग भैसकेको र शिक्षालयको आफ्नै सवारी साधन नभएकाले टाढा–टाढा पुराउन समस्या परेको बन्जाडेले बताउनु भयो । 

सिटिइभिटीको ‘सिक, कमाउ र तिर’ भन्ने अवधारणालाई आत्मसात गर्दै शिक्षालयले कार्य गर्दै आएको छ । शिक्षालयमा हाल गुल्मी सहित  सुर्खेत, हुम्ला, जुम्ला, बाजुरा, मुगु, लमजुङ, बागलुङ, नवलपरासी र प्युठान लगायतका जिल्लाका  विद्यार्थीहरूले अध्ययन गर्दै आइरहेका छन् ।

अहिले बजारमा प्रति किलो तीन सय रुपैयाँमा फुल बिक्री भइरहेको छ । त्यस्तै शिक्षालयमा फुल मात्र हैन तरकारी खेती समेत गरिएको छ । शिक्षालयको फर्ममा अहिले काउली, बन्दा गोभी, ब्रोकाउली, भन्टा, सिमी, रैथाने जातको स्थानीय सिमि, डल्ले खुर्सानी, काँक्रो र टमाटर लगाएको खेती गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button