पुर्ख्यौली पेशा सङ्कटमा परेपछि युवा पुस्ता अन्यौलमा

वीरगंज । माटोको भाडा बनाउने कुम्हाल समुदायको पुर्ख्यौली पेशा हो । उनीहरूले बनाउने माटाका भाँडाहरू विभिन्न पूजापाठ तथा चाडपर्वहरूमा प्रयोग हुने गरेको छ ।
तरपनि बढ्दो विद्युतीय सामग्री र प्लाष्टिकको सामाग्रीले कुम्हाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्दै गएको छ । साथै यसमा युवा पुस्ताको आकर्षण पटक्कै छैन । पुर्ख्यौली पेशा सङ्कटमा पर्दै गएपछि र युवा पुस्ताको आकर्षण बढाउनका लागि भाडाकुँडा बनाउने पुर्ख्यौली पेसालाई संरक्षण गरी व्यावसायिक प्रवद्र्धनका लागि तराई कुम्हार समाजले संस्थागत रुपमा नै पहल शुरु गरेको छ ।
विगत ६ वर्षदेखि वीरगञ्जको घण्टाघरमा माटाका भाँडाहरूको व्यवस्थित बजार लगाउन थालेको छ । उनीहरूले कृषि बाहेक आफ्नो पेसालाई आयआर्जनको माध्यम पनि बनाउदै आएका छन् । तर, पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय सामग्रीको प्रयोगले उनीहरूको पेशा सङ्कटमा पर्नुको साथै आम्दानीको स्रोत पनि गुमाउनु परेको छ ।
सीमावर्ती भारतबाट माटाका भाँडाहरू वीरगन्ज ल्याएर बिक्री गर्नेहरूले गर्दा पनि स्थानीय कुम्हाल समुदायलाई मार परेको उनीहरूको गुनासो छ । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ सुरजहाँका भागृत पंडित ३० वर्षदेखि माटोको भाँडाहरू बनाउदै आएका छन् ।
उनी खेती किसानी सँगै माटाका भाँडाहरू बनाएर बिक्री गरी जीवन यापन गर्दै आएका छन् । पहिलेको जस्तो व्यापार अहिले नभएको उनी बताउँछन् । वीरगन्जमा माटाका भाँडाहरू बनाउने र बेच्ने कतिपय व्यावसायिक रूपमै त्यही पेसामा छन् । कतिपय भने चाडपर्वको बेलामा मात्रै बनाएर बेच्ने गरेका छन् ।
वीरगञ्ज-११ रानीघाटका मोहन पंडित कुम्हाल माटोको भाडा नै बनाएर परिवार चलाउँछन् । उनका छोरा रमेश प्रजाति पनि बाबुकै पेसामा लागेका छन् । तर पहिले जस्तो बजारमा दियो बिक्री हुन छोडेको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिले जस्तो छैन । यो बर्ष घाटा नै छ । पहिले २०० बिक्री हुन्थ्यो ।
यसपटक घाटाको व्यापार होला जस्तो छ ।’ पुर्ख्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन् ।
पुर्ख्यौली पेशा सङ्कटमा परेपछि युवा पुस्तामा भने अन्यौलमा छन् । वैकल्पिक बाटोको रुपमा वैदेशिक रोजगारीमा जानुपर्ने बाहेक देशमा रोजगारीको अवसर पनि नहुँदा र पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउनका लागि राज्यबाट सहयोग नहुँदा युवा पुस्ता अन्योलमा रहेको तराई कुम्हार समाज पर्साका अध्यक्ष चन्द्रशेखर पंडितले बताउनुभयाे ।
उनले भने, ‘अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने नै छ । मेहनत गरे अनुसारको प्रतिफल नपाउँदा निराश हुने गरेका छन् । पेसालाई व्यावसायिक बनाउन राज्यबाट पनि सहयोग पाएको छैन । यसलाई व्यावसायिक बनाउन सकेमा युवा पुस्तालाई आफ्नो पुर्ख्यौली पेसालाई जोगाएर राख्न हौसला बढ्ने थियो ।






प्रतिक्रिया राख्नुहोस्