तपाईँ सुन्दै हुनुहुन्छः

मालदिभ्समा नेपाली खेलाडीलाई स्वर्ण

काठमाडौँ । माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरूले जितेका छन् । मालदिभ्सको हुलहुमालेमा भएको १५ औँ धिरागु मालदिभ्स रोड रेसमा नेपालका गोल्डेन गर्लको उपनामले चिनिने धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोष विक्रम बिष्टले दुई–दुई वटा स्वर्ण जितेका हुन् ।

माल्दिभ्सको एथलेटिक्स क्लब आइल्याण्ड रनर्स माल्दिभ्सको तर्फबाट व्यावसायिक खेल खेल्दै शुक्रबार बिहान र बेलुकी भएको दुई खेलमा सन्तोषी र सन्तोषले मुख्य विधा हाफ म्याराथन र ५ किलोमिटरमा स्वर्ण हात पारेका हुन् ।

सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेन्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे ।

मुख्य विधा हाफ म्याराथनमा सन्तोषीले साम्हा अहमेद र निजमीना अहमेदलाई पछि पार्दै उपाधि जितेकी हुन् भने सन्तोषले हुसेन फजिल र युसुफ इब्राहिमलाई पछि पारेका हुन् । यससँगै दुवै नेपाली खेलाडी २५ हजार र १० हजार गरी कुल ३५ हजार माल्दिभियन रुपिया (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) हात पारेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button