तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक : सञ्चारमन्त्री डा. खतिवडा

काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन निर्देशन दिनुभएको छ ।

अर्थमन्त्रीसमेत रहनुभएका सञ्चार मन्त्री डाक्टर खतिवडाले आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको भन्नुहुँदै प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने बनाउन निर्देशन दिनुभएको हो ।

मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा सुचना पुर्याउन प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री डाक्टर खतिवडाले रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालको सम्पतिको संरक्षण र व्यबसायिक उपयोगमार्फत् आम्दानी बढाउन तथा त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न निर्देशन दिनुभयो ।

उहाँले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र लगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा पनि जोड दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीसमक्ष रेडियो नेपालले गरिरहेका कामकारवाही र आगामी योजनाका वारेमा जानकारी गराउनुभएको थियो ।

यस अवसरमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सञ्चारमन्त्रालयका सचिव दिपक सुबेदीसहित मन्त्रालयका पदाधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button