एक सय आठ फिटको व्यास मूर्ति निर्माण गर्न महायज्ञ
दमौली। दमौलीमा १०८ फिट अग्लो व्यास मूर्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट रु तीन करोड ४८ लाखभन्दा बढी रकम बचत भएको छ । व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत माघ २० देखि २८ गतेसम्म आयोजना गरेको महायज्ञबाट रु तीन करोड ४८ लाख ३६ हजार ९७७ बचत भएको हो ।
विकास कोषले आज दमौलीमा पत्रकार सम्मेलनमार्फत महायज्ञको आयव्यय सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो । महायज्ञमा आर्थिक सहयोगबापत रु तीन करोड ६६ लाख ६७ हजार २८५, कलश विक्रीबाट रु ५३ हजार ८००, दानपेटिकाबाट रु ९२ हजार ६६३ र धान चामलबाट रु २७ हजार ८२१ गरी कूल रु तीन करोड ६८ लाख ४१ हजार ५७० आम्दानी भएको महायज्ञका आर्थिक संयोजक मङ्गलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञमा कूल रु २० लाख चार हजार ५९२ खर्च भएको थियो । उहाँका अनुसार महायज्ञबाट आम्दानी भएको रु एक करोड ४७ लाख ५५ हजार ३८६ सिद्धार्थ बैंक लिमिटेडमा मौज्दात छ भने रु एक करोड ८७ लाख २२ हजार ९४१ प्रतिबद्धता बमोजिमको रकम उठ्न बाँकी रहेको छ ।
त्यस्तै रु १२ लाख ५४ हजार ३६९ बराबरको चेक सटही गर्न बाँकी रहेको सो अवसरमा जानकारी गराइयो । “प्रतिबद्धता बमोजिमको रकमका लागि दानवीरले लिखत नै गरेकाले उक्त रकम उठ्नेमा आयोजक विश्वस्त छौँ”, श्रेष्ठले भन्नुभयो, “धेरै दानवीरले मूर्ति निर्माणको काम प्रारम्भ हुने बित्तिकै कबोल गरेको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।” महायज्ञबाट सङ्कलन भएको रकमले काम शुरु गर्न प्रेरणा मिलेकोले अब छिट्टै नै मूर्ति निर्माणको कामलाई प्रारम्भ गरिने विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मूर्ति निर्माणका लागि परामर्शदाता छनोट गरेर अगाडि बढ्ने तयारी गरिएको छ । “काम गर्ने विधि टुङ्ग्याएर चाँडै नै कार्य प्रारम्भ गर्न विकास कोष आतुर छ”, श्रेष्ठले भन्नुभयो ।
मूर्ति निर्माणका लागि महायज्ञबाट सङ्कलन भएको रकम पर्याप्त नभएकाले सङ्घीय र प्रदेश सरकारबाट पनि सहयोग हुने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । महायज्ञको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र समापनका अवसरमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो । मूर्ति निर्माणका लागि ४०–५० टनभन्दा बढी तामा आवश्यक पर्ने भएकाले तामा सङ्कलनका लागि घरदैलो अभियान चलाइने विकास कोषका उपाध्यक्ष एकबहादुर रानाले जानकारी दिनुभयो ।
प्रत्येक टोल विकास संस्था सम्मिलित गरी समिति गठन गरेर तामा सङ्कलनका लागि घरदैलो गरिने उहाँले बताउनुभयो । १०८ फिटको व्यास मूर्ति निर्माणका लागि बनाइएको गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुनेछ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ सालदेखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तलाको स्तम्भ ‘पेडेस्टल’ निर्माण गरिनेछ । स्तम्भ निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान छ । व्यास मूर्ति निर्माणलाई ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । स्तम्भभित्र सङ्ग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ ।
गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।








प्रतिक्रिया राख्नुहोस्