बर्दघाट सहित प्रदेशका तीन स्थानका रिफ्रेस सेन्टर सञ्चालनका लागि परामर्श
नवलपरासी,पश्चिम् । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेका बर्दघाट सहित लुम्बिनी प्रदेशका तीन स्थानका रिफ्रेस सेन्टरहरूको सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइने गरि यसको मोडालिटी तयार गर्न लागिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका तीन जिल्लामा सवारी चालक र यात्रुहरूका लागि निर्माणाधीन सुविधायुक्त रिफ्रेस सेन्टरको पहिलो चरणको काम सकिएसँगै यसको सञ्चालनका बारेमा सम्बन्धित स्थानीय तहका प्रमुख हरू सँग परामर्श गरिएको हो ।शहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेशका तीन जिल्लामा तिनवटा रिफ्रेस सेन्टरहरू रहेका छन्।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका,कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा, रुपन्देहीको सैनामैनामा निर्माण गरिएका रिफ्रेस सेन्टरको पहिलो चरणको भित्री काम सकिएको शहरी बिकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका सिडिई प्रवक्ता गुणनिधी पोख्रेलले रेडियो नेपाललाई जानकारी दिनुभयो।
पहिलो चरणको काम सकिएको र दोस्रो चरणको काम बाकी रहेको र सञ्चालन सम्बन्धी कार्यविधिलाई पूर्णता दिन बाकी रहेकाले मन्त्री रोज राणा सहित स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा छलफल भएको मन्त्रालयका सिडिई (प्रवक्ता )गुणनिधी पोख्रेलले जानकारी दिनुभयो ।
“भित्रको काम सकिएको छ,अब कम्पाउड,गार्डेन,माटो फिलिङ,चार्जिङ स्टेसन निर्माण लगायतका काम बाकी छन्,यी काम सकिएपछि एक डेड महिनामा कानुनी प्रक्रिया पुर्याएर पालिकालाई हस्तान्तरण गर्छौ “प्रवक्ता पोख्रेलले रेडियो नेपाल सँग भन्नू भयो ।कार्यविधि लाई अन्तिम रूप दिनकालागि सम्बन्धित स्थानीय तहका प्रमुख हरुको सुझाव लिइएको उहाँले बताउनु भयो ।
निर्माणका समयमा पालिकाहरूले नै जग्गा उपलब्ध गराएका थिए भने सो समयमा नै निर्माण सम्पन्न भएपछि सञ्चालनका लागि मन्त्रालय र स्थानीय तह बिच स्थानीय तहलेनै सञ्चालन गर्ने भनी एमओयु(सहमति) भएको पोख्रेलले बताउनु भयो ।
“अन्य दुई स्थानको तुलनामा बर्दघाटको रिफ्रेस सेन्टर बाटोको सतहभन्दा निकै गहिरो स्थानमा छ,माटो फिलिङ लगायतका कुराहरूमा अलि खर्च बढी आउने देखिएको छ ,अन्यमा भने खासै समस्या छैन”पोख्रेलले भन्नू भयो ।
सञ्चालनका लागि सम्बन्धित पालिकाको प्रमुख अध्यक्ष र अन्य पदाधिकारीसहितको समिति रहने कार्यविधिमा उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशको शहरी बिकास तथा खानेपानी मन्त्रालयले गरेको छलफलमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा र रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर फणेन्द्रप्रसाद शर्मा सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्