तपाईँ सुन्दै हुनुहुन्छः

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि माओवादीद्वारा संसद् अवरुद्ध 

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले यही भदौ १२ गते संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने बत्ताएपछि नेकपा माओवादी केन्द्रका सांसदहरुले त्यसको विरोध गर्नुभएको छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको मागअनुसार विषय प्रसङ्गलाई हेर्दा ‘हिंसा’ शब्द असंसदीय नदेखिएको भन्दै संसद्को अभिलेखबाट हटाउन नपर्ने सभामुख घिमिरेले बताउनुु भएको थियो ।

सभामुख घिमिरेले परामर्श समिति र संसद् सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको बताउनुभयो । सभामुख घिमिरेले सभाका पछिल्ला बैठकहरूमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभयो ।

त्यस लगत्तै बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानभन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै संविधान र शान्ति प्रक्रियाको विपरीत शब्द प्रयोग गर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले आएको व्याख्या बेठिक भएको भन्दै आफ्नो दलले त्यसको विरोध गर्ने पनि बताउनुभयो । 

त्यसपछि सभामुख घिमिरेले नेकपा एमाले नेता रघुजी पन्तलाई बोल्न समय दिनुभयो । पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागे पनि यस विषयमा वादविवाद नगरौँ भन्दै बोल्न समय नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद् अवरोध गर्नुभयो ।

संसदमा हिंसा शब्द असंसदीय भन्दै माओवादीका सांसदहरुले विरोध गरेपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनुभयो । सांसद पौडेलले विस्तृत शान्ति सम्झौतादेखी संविधानसम्म कतै पनि जनयुद्ध, जनआन्दोलन र सशस्त्र द्वन्द्वलाई हिंसा नभनिएको स्पष्ट पार्दै त्यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्नुभयो । 

बैठकमा सभामुख घिमिरेले वादप्रतिवादबाट संसद्को कारबाही अगाडी बढाउन नसकिने भन्दै संसद् सुचारु गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गर्नुभएको थियो । 

माओवादीका सांसद उठेर विरोध गरिरहेपछि बैठकमा सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेलाई रेकर्ड गर्ने होकी रुलिङ माथिको आपत्ति हो स्पष्ट पार्न समय दिनुभयो । त्यसपछि प्रमुख सचेतक पाण्डेले जनयुद्धलाई होच्याउने गरी शब्द प्रयोग भएको भन्दै अहिले भएका रुलिङ संविधान र कानुन विपरीत भएको र संविधान बाहिर गएर कुनै पनि रुलिङ गर्न नहुने बताउनुभयो । 

त्यसपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको आरोप लगाउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सभामुख घिमिरेले पटक पटक कार्यसूचीमा प्रवेश गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गरेपनि माओवादी केन्द्रका सांसदहरु उठेर विरोध गरिरहेपछि बैठक भदौ ३० गते आइतबार दिउसो १ बजेसम्मका लागि स्थगित गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button