बागमती प्रदेशमा लगानीमैत्री कानुन बन्ने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्योग वाणिज्य संघ मकवानपुरले हेटौँडामा आयोजना गरेको प्रदेश मन्त्रीहरूको स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रदेशमा लगानीमैत्री कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री लामाले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “रोजगारी बढाउन उद्योग स्थापना गर्नुपर्छ। यसका लागि लगानीमैत्री कानुन बनाउनु आजको आवश्यकता हो।”
उद्योग दर्ता प्रक्रियादेखि नै उद्योगीहरूले समस्या भोग्नुपरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री लामाले नीतिगत सुधारका लागि आफू तयार रहेको बताउनुभएकाे छ । उहाँले लगानीकर्ताले सुरक्षित महसुस गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने र कर छुट वा अन्य सुविधाका विषयमा स्पष्ट नीति बनाउनुपर्ने धारणा राख्नुभयो।
मुख्यमन्त्री लामाले सर्वसाधारण, राजनीतिक दल, भ्रातृ सङ्गठन र कर्मचारीहरूले पनि उद्योगीलाई समस्या दिने गरेको उल्लेख गर्नुहुँदै यो गलत प्रवृत्ति रहेको समेत बताउनुभयो । उद्योगी र सरकारबीच समन्वय आवश्यक रहेको पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले उद्योगीहरूका समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्